पा. श्याम मानन्धर
पण्डिता रमाबाई सरस्वती

पण्डिता रमाबाई सरस्वती[1] (२३ अप्रिल १८५८-५ अप्रिल १९२२) भारतको एक प्रतिष्ठित ब्राह्मण परिवारमा जन्मेकी थिइन् । उनी तत्कालीन भारतका प्रमुख महिला समाज सुधारक र शिक्षाविद्हरू मध्ये एक थिइन् । उनले भारतीय पेन्टिकोस्टल अभियानमा पनि अग्रगामी भूमिका खेलेकी थिइन् । आफूले हासिल गरेको शिक्षा र आफूसँग भएका स्रोत-साधनलाई आफ्नो समाजका विपन्न र पिछडिएको वर्गलाई मद्दत गर्न प्रयोग गरेकी थिइन् ।
सामाजिक र साँस्कृतिक प्रतिबन्धका बावजुद पनि पिताले उनलाई संस्कृत पढ्न र लेख्न सिकाएका थिए । उनका पिता अनन्त शास्त्री दोङ्ग्री एक संस्कृत शिक्षाविद् र समाज सुधारक थिए । उनले बाह्र वर्षको उमेरमा महत्वपूर्ण हिन्दू धार्मिक ग्रन्थ पुराणका १८,००० श्लोकहरू कण्ठस्थ पारेकी थिइन् । उनी एक प्रसिद्ध हिन्दू विद्वान बनिन् र सात भाषाहरूको ज्ञान पनि हासिल गरिन् ।
सानै उमेरदेखि रमाबाईले समाजद्वारा घृणा र दुर्व्यवहार गरिएका विधवा र टुहुराहरूको सेवामा आफ्नो जीवन समर्पण गरेकी थिइन् । आफू बेलायतमा अध्ययनरत रहँदा त्यहाँको चर्चमा सहभागी बनेकी थिइन् । लण्डनका झुपडीहरूमा यात्रा गर्दा उनले संस्थागत चर्च र “येशूको शिक्षा” बीचमा भिन्नता महसुस गरिन् । आफ्नो जन्मभूमिमा फर्किएपछि समाजबाट विस्थापित विधवा र बालबालिकाहरूका निम्ति घरहरू पुनर्निर्माण गर्न सुरु गरिन् । स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षाको प्रवर्द्धन र सामाजिक सुधारको निम्ति लडिन् ।
समाज सुधार सम्बन्धी उनको फरक दृष्टिकोण भएको भनी उनलाई अरू समाज सुधारकहरूले एकलो बनाएका थिए तर उनले आफ्नो ख्रीष्टियान गवाही र दृष्टिकोण अनुसार सुधारको काम गर्न छोडिनन् । उनले सबै किसिमका आलोचनाहरू सहिन् र आफ्नो कार्यमा अझ साहसी बन्दै गइन् । समाजमा भएका टुहुरा र यौनकर्मीहरूको निम्ति थप घरहरू निर्माण गरिन् । उनले समाजमा भौतिक र आत्मिक दुवै किसिमले सेवा पुर्याइन् । महिला र बालबालिकालाई आश्रय र शिक्षा दिइन्, साथै ख्रीष्टियान सिद्धान्त पनि सिकाइन् । नयाँ पुस्ताका ख्रीष्टियानहरूलाई चेलापनमा हुर्काउने कार्य गरिन् ।
कतिपय कुराहरू केवल प्रार्थनाद्वारा मात्र परिवर्तन हुन्छन् भनी उनले महसुस गरिन्, त्यसैले भारतमा आत्मिक र सामाजिक रूपान्तरण ल्याउन महिलाहरूलाई प्रार्थनामा सहभागी हुन प्रोत्साहित गरिन् । सन् १९०५ मा उनले प्रार्थना अभियान सुरु गरिन्, अन्तर्बिन्ती प्रार्थना गर्न करिब पाँच सय पचास जना महिलाहरू दिनमा दुई पटक भेट्न थाले । कयौं युवतीहरूलाई सुसमाचार प्रचार गर्न गाउँ-गाउँमा पठाइन् । सन् १९०५ को जुन महिनाको २९ तारिखमा ती युवती र महिलाहरू पवित्र आत्मामा बप्तिस्मा पाएको तथ्य उल्लेख गरिएको छ । त्यो आत्माको भरिपुरी र जागरण धेरै वर्षसम्म कायम रहिरह्यो । त्यस प्रार्थनामा सहभागी भएका महिला र युवतीहरूले सन् १९०६ मा अन्यभाषामा बोल्ने वरदान प्राप्त गरे ।
मुक्ति मिसनको अनाथालयमा भएका युवतीहरूले प्रत्येक दिन नाम लिएर २९,००० भन्दा बढी व्यक्तिहरूको निम्ति प्रार्थना गर्थे । ती मानिसहरूले येशूमा विश्वास गर्न सकून् र पवित्र आत्मामा बप्तिस्मा प्राप्त गरून् भनी प्रार्थना गर्थे ।
भारतीय पेन्टिकोस्टल अभियानको प्रारम्भिक इतिहासमा पण्डिता रमाबाई र मुक्ति मिसनको महत्वपूर्ण भूमिका रहेको थियो । अजुसा स्ट्रिट जागृतिपछि पठाइएका पहिलो मिसनरी अल्फ्रेड जी गारले भारतीय पेन्टिकोस्टल अभियानको विषयमा रमाबाईसँग आफूले गरेको कुराकानी पेन्टिकोस्टल इभान्जेलको अप्रिल १९१६ को अङ्कमा प्रकाशन गरेका थिए । नारी उत्थानको निम्ति उनले पुर्याएको योगदानको कदर गर्दै भारत सरकारले रमाबाईको सम्मानमा सन् १९८९ मा हुलाक टिकट पनि प्रकाशन गरेको थियो । चर्च अफ इङ्ल्याण्डले पनि विशेष सम्मान दिएको थियो ।
[1] कलकत्ता युनिभर्सिटीले सन् १८७८ मा उनको संस्कृत विद्वता र कृतिहरूका निम्ति उनलाई पण्डिता र सरस्वती उपाधि दिएको थियो ।

