पा. श्याम मानन्धर

तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन। 4कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्। तर बरु धन्यवाद दिने काम होस्। 5किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन। एफिसी ५:३-
मिश्रदेशको दासत्वबाट छुटकारा पाएका इस्राएलीहरू कनान जाने यात्रामा बारम्बार गनगन गरे, विश्वासमा स्थिर भएनन्, शंका गरे, लोभ गरे, डराए र अन्तत उनीहरू परमेश्वरप्रति धन्यवादी नै भएनन् । कस्तो दुःखद कुरा ।
रोमी १:२१ मा पावलले समस्त जगतले नै परमेश्वरलाई धन्यवाद नदिएको दोष लगाएका छन् । वास्तवमा परमेश्वर अपार कृतज्ञता र अनन्त धन्यवादका योग्य हुनुहुन्छ ।
परमेश्वरप्रति धन्यवादी नभएको मानिस स्वभावैले बैगुनी, लोभी, खुसी पार्नै नसकिने, व्यभिचार, अशुद्धता र मूर्खतामा मन लगाउने किसिमको हुन्छ भनी पावलले हामीलाई खबरदारी गरेका छन् । यस किसिमको आचरणले व्यक्ति र परिवार दुवैको भलाई हुन सक्दैन । यस्ता मानिसहरूले परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउने छैनन् भनी वचनमा स्पष्ट उल्लेख गरिएको हुनाले हामी सचेत बन्नुपर्छ ।
परमेश्वरको प्रेम, अनुग्रह र विश्वासयोग्यताप्रति धन्यवादी हुनु सबै मानिसको निम्ति असल र लाभदायक छ । परमेश्वरले हामीलाई राख्नुभएको स्थानमा र हामीलाई दिनुभएको परिवारमा हामी सन्तुष्ट हुनुपर्छ । बेफाइदाका सांसारिक कुराहरूमा मन लगाउनु हामी ख्रीष्टियानहरूलाई सुहाउँदैन । प्रियहरू, परिवारमा गनगन, झैझगडा, असन्तुष्टि र पिरचिन्तालाई स्थान दिनुको सट्टा परमेश्वरलाई धन्यवाद दिने र उहाँको प्रशंसा गर्ने बानी बसालौँ ।
के आज तपाईंले परमेश्वरलाई धन्यवाद दिनुभयो ? के तपाईं परमेश्वरप्रति धन्यवादी हुनुहुन्छ ?