आओ, लेओ, मसँग सिक

पा. श्याम मानन्धर

‘‘मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ । पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पितालाई प्रकट गरिदिन इच्छा गर्दछ । हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु । मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ । किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ’’ (मत्ती ११:२७–३०)

ख्रीष्‍ट येशूले यस वचनखण्डमा विश्राम दिने उच्‍च अभिप्रायले सबै मानिसहरूलाई बोलाउनु भएको छ । आजको समाज दिन प्रतिदिन सरलताबाट जटिलतातिर उन्मुख भइरहेको पाइन्छ । मानिसहरूका आवश्यकताहरू असङ्ख्य रूपमा दिनानुदिन बढ्दैछन् भने ती आवश्यकताहरू पूरा गर्ने साधन तथा स्रोतहरू सीमित बनिरहेका छन् । येशूको यस बोलावटमा मानवीय, भौतिक तथा शारीरिक आवश्यकता परिपूर्ति गर्नुका साथै आत्मिक खाँचो पूरा गर्ने महान् उद्देश्य समावेश भएको हामी देख्दछौं । ख्रीष्‍टलाई निश्‍चय नै मानिसहरूका आवश्यकताहरू थाहा छ । साथै उहाँलाई ती आवश्यकताहरू कसरी पूरा गर्न सकिन्छ भन्‍ने कुरा पनि थाहा छ । मानिसहरू आफैले ती आवश्यकताहरू परिपूर्ति गर्न असमर्थ छन् । उहाँ स्वयं ती आवश्‍यकताहरू परिपूर्तिका स्रोत हुनुभएकोले उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभएको हो । येशूले मत्ती ११:२७-२८ मा अधिकारसहित भन्‍नुभयो, “पिताले मलाई सबै थोक सुम्पिदिनुभएको छ’’ त्यसैले, “मकहाँ आओ’’ । यस वचनखण्डलाई नजिकबाट अवलोकन गर्दा उहाँले हामीलाई तीन कुराहरूका निम्ति बोलाउनुभएको थाहा गर्छौं।

१. हामी उहाँमा विश्राम गर्न बोलाइएका हौं । यो बोलावट हामी सबैको निम्ति एक सुनौलो अवसर र खुशीको खबर हो । उहाँले हामीलाई जीवनका सबै किसिमका थकावटहरूबाट विश्राम प्राप्‍त गर्न निमन्त्रणा दिनुभएको छ । उहाँले हाम्रो पापको बोझ, मुत्युको डर, र अन्तिम दिनमा हुने न्यायको डरबाट हामीलाई विश्राम दिन चाहनुहुन्छ । उहाँले हामीलाई यो सित्तैँमा दिन चाहनुहुन्छ । अशान्त जीवनदेखि थाकेर क्लान्त भएकाहरूलाई उहाँ विश्राम दिन बोलाउँदै हुनुहुन्छ । यदि तपाईं पनि यस्तै अवस्थामा हुनुहुन्छ भन्‍ने उहाँको यो बोलावट तपाईंको निम्ति पनि हो । उहाँको यस बोलावटप्रति सकारात्मक प्रत्युत्तर जनाउने सुवर्ण अवसरको सदुपयोग गर्नुहोस् ।

२. हामी सेवा गर्न बोलाइएका हौं । येशूले भन्‍नुभयो, “मेरो जुवा तिमीमाथि लेओ’’ संसारमा धेरै प्रकारका जुवाहरू छन् । हामीले विवश भई बोकी हिँडेका जुवाहरू शैतानले जबरजस्त हामीमाथि लादिदिएका जुवाहरू हुन् । ख्रीष्‍टको जुवा के हो त ? उहाँको जुवाले वास्तवमा उहाँको शिक्षा र जीवनशैलीलाई बुझाउँछ । उहाँको जुवाले आफ्नो जीवनमा परमेश्‍वरको इच्छा पूरा गर्न चाहने अभिप्रायलाई पनि बुझाउँछ (भजनसंग्रह ११:८) । ख्रीष्‍टको जुवा बोक्‍नु चाहिँ आफैलाई ख्रीष्‍टमा पूर्ण रूपमा समर्पण गर्नु हो । ख्रीष्‍टको जुवा बोक्‍नु चाहिँ  ख्रीष्‍टसँगै सहकार्य गर्न राजी हुनु हो । उहाँको जुवा सजिलो र हलुको छ । येशूले हामीमाथि आफ्नो जुवा जबरजस्त लाद्नुहुन्‍न तर उहाँसँगै सहकार्य गर्नका निम्ति अनुग्रही निमन्त्रणा दिनुहुन्छ । यदि हामीले ख्रीष्‍टको सजिलो र हलुको जुवा बोक्‍न इन्कार गर्‍यौँ भने शैतानले जबरजस्त लादेको जुवामै हामी लादिनु पर्ने हुन्छ । त्यसैले, आज सही कुराको छनोट गर्ने मौका तपाईं सामु छ । येशूको सेवा गर्न उहाँको जुवा बोक्‍ने कुरा नै छनोट गर्नुहोस् ।

३. हामी सिक्‍न बोलाइएका हौं । येशूले भन्‍नुभयो, “मसँग सिक’’ उहाँ कोमल र विनम्र हृदयको हुनुहुन्छ । उहाँ हामीलाई उहाँसँगै नारिन सिकाउन चाहनुहुन्छ । यसको निम्ति हामी उहाँको नजीक जानु आवश्यक छ । हामी उहाँको नजीक हुनको लागि हामीले उहाँको जुवा बोक्‍नुपर्छ (प्रेरित ९:६) । धेरै ख्रीष्‍टियानहरू वृद्धि हुनु नसक्‍नुका धेरै कारणहरू मध्ये उहाँको चरणमा गएर उहाँसँग नसिक्‍नु पनि एक हो । त्यसैले, उहाँसँग रहन र उहाँबाट सिक्‍न छोड्नुहुँदैन । जब हामी ख्रीष्‍टको जुवालाई स्वीकाछौँ, तब हामी ख्रीष्‍टको स्कूलमा प्रवेश गर्दछौं (एफिसी ४:२०–२३) ।

हामीले बोक्‍न नसक्‍ने बोझहरूबाट छुटकारा दिनुभई हाम्रो जीवन अघि बढाउन उहाँले हामीलाई विश्राम, शान्ति र आफ्नो पवित्र आत्मा दिनुहुन्छ । ‘‘यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं’’ (हिब्रू ४:१६) ।